बिर्तामोड,माघ २२ । शिक्षासेवी स्वर्गीय हरिकुमार प्रसाईको स्मृतिमा संचालन भइरहेको हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगितामा सहभागिता बढ्दै गएको छ ।

गत वर्ष १६ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा यस वर्ष २० वटा विद्यालयले सहभागिता जनाएका छन् । बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी र एभरेष्ट स्पोर्ट्स एकाडेमीको आयोजनामा तेस्रो हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिता बिहीवारदेखि शुरु भएको हो ।

विद्यालयका संस्थापक प्रसाईंको स्मृतिमा हरेक बर्ष उक्त प्रतियोगिता हुँदै आएको छ । बिहीवार भएको पहिलो खेलमा इष्ट होराइजन मावि धुलावारी विजयी भएको छ । आयोजक एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीलाई १–० को गोल अन्तरले हराउँदै इष्ट होराइजन विजयी भएको हो । इस्ट होराइजनका तर्फबाट जर्सी नं ७ का निक्रिश घिसिङले ४३ औं मिनेटमा सो निर्णायक गोल गरेको आयोजक विद्यालयका प्रिन्सिपल अनुप शर्माले जानकारी दिएका छन् ।

प्रतियोगितामा सुनभागा स्कूल, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची , निदि, ग्रिनफिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीवेल, वेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, बाल्मीकि प्रोभिडेन्स र न्यूटन्स एजुकेशन एकाडेमीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल माघ २८ गते हुने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । विद्यालयका प्रबन्ध निर्देशक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशिष प्रसाईंको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी , बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष एचके पाठक , बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, बालकल्याण माविका संस्थापक राम सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रबन्ध निर्देशक प्रसाईंले स्वागत मन्तव्य राख्दै आफ्ना स्व. पिता हरिकुमार प्रसाईले शैक्षिक क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै विद्यालयले गरिरहेका गतिविधिबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , मेची आँखा अस्पताल तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, न्यूटन्स स्कुलका विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपिकृष्ण प्रसाई, विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, अभिभावकलगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन् ।

यसैबीच विद्यालय र एभरेष्ट बाल क्लबले दुई जना क्यान्सरपीडित बालकलाई सहयोग गरेका छन् । बाह्रदशी निवासी ३ बर्षीय नुतन राजवंशी र भद्रपुर निवासी ६ बर्षीय आरोन धमलालाई जनही ३५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको प्रिन्सिपल शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्