झापा, माघ २२ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा चुनावी तालमेल गर्न राखेको प्रस्ताव नेकपा संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका छन्।

चुनावी तालमेल गर्ने विषयमा ओली र नेकपा संयोजक दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो । तर, १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन गरी प्रचारमा लागिसकेकाले तालमेल सम्भव नभएको जवाफ फर्काएको नेकपाका निर्वाचन प्रचारप्रसार समितिका संयोजक अग्नि सापकोटाले बताए । ‘एमालेबाट तालमेलको प्रस्ताव आएको हो । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा प्रचारप्रसार थालिसकेका छौँ । त्यसैले नेकपाले अब कसैसँग तालमेल गर्दैन’ उनले भने ।
नेकपाबाट झापा–५ मा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ उठेका छन् । एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि नेकपा संयोजक दाहालले अब कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट गरेका छन् । नेकपा, एमाले र अन्य दलसँग तालमेल नहुने भन्दै १६४ निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिलाई घरदैलो अभियान व्यापक बनाउन निर्देशन दिएका छन् ।



