झापा,माघ २२ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–७, भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढगाउँ मोडमा दुर्घटना भएको हो । पवनदूत यातायातको सुपप्र–०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए ।
दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजनाको कोटिला स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको छ भने स्थानीयवासीहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् । घाइतेमध्ये १५ जनालाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । केही घाइतेको अवस्था गम्भीर रहेको र ठूलो मानवीय क्षति भएको डीएसपी रायले बताए। मृत्यु हुनेमा ४ जनाको मात्र नाम र ठेगाना खुलेको छ । मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका– ७ बस्ने ४० वर्षीय केशव जोशी, सोही ठाउँका १३ वर्षीय अशोक जोशी, ३५ वर्षीय बसन्त जोशी र केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट रहेको डीएसपी रायले बताए । ४५ जनाको उद्धार गरी कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।
बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ । उद्धारमा खटिएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।गम्भीर घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।



