झापा, माघ २३ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा– ७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।

पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ।
घटनास्थलमै मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी रहेका छन् ।

यस्तै केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका – ७ बस्ने ४० बर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीया पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी नायव निरीक्षक बलदेब बडूले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ का १७ बर्षीय विशनदत्त जोशी, सोही ठाउँका अन्दाजी २८ बर्षीय दीपकराज जोशी, अन्दाजी ४५ बर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिका–७ का २७ बर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ बर्षीय सुशील जोशी रहेको प्रवक्ता बडूले बताए ।

४५ जनाको उद्दार गरी ४० (१३ महिला २७ पुरुष) जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको र ५ जना पुर्चौडीकै कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।

बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । बसको प्रेसरपाइप फुटेर उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी वलको अनुमान छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्