झापा, माघ २३ । झापा ५ मा रास्वपाका उम्मेदवार बालेन शाह चुनाव प्रचार गरिसकेर फर्किएपछि एमालेका उम्मेदवार केपी ओली आएका छन् ।

आगामी निर्वाचनका लागि झापा ५ मा उम्मेदवार बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज दिउँसो काठमाडौबाट झापा आइपुगेका हुन् । दिउँसो ३ः१० बजे चन्द्रगढी बिमानस्थलमा काठमाडौंदेखि यति एयरलाइन्सको उडानमा ओलीसहित १२ सदस्यीय टोली आइपुगेको हो । उनी बा १८ च ४८४५ नं. को गाडीमा दमकतर्फ प्रस्थान गरेका छन् ।
ओलीको स्वागतका लागि चन्द्रगढी बिमानस्थल परिसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री चिन्तन पाठक, पार्टीका नेता, कार्यकर्ताहरु उपस्थित थिए । उनले एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेट्ने कार्यक्रम रहेको छ ।
गत सोमवार साँझ चन्द्रगढी विमानस्थलबाटै बालेन शाह झापा ५ पुगेका थिए । उनले झापा ५ का ग्रामीण क्षेत्रहरु गौरादह , गौरीगञ्ज र कमलमा मतदाताहरुसंग प्रत्यक्ष भेटघाट गरेका थिए । लगातार निर्वाचन जितेर पकड बनाएको ओलीको क्षेत्रलाई बालेनले भत्काउँदै लगेका छन् । जसका कारण ओलीलाई आफ्नो साविक मत जोगाउन चुनौती रहेको छ ।
झापा– ५ मा ओली र बालेनसहित कांग्रेसबाट मन्धरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट लक्ष्मीप्रसाद संग्रौलालगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।



