बिर्तामोड । भोलिदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको आज रंगशालामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।
‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।
मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा चिनिएको प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज,लालीगुँरास क्लब पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्ट क्लब भारत, एन पेनाङ फुटबल क्लब मलेसिया र आयोजक टिम झापा ११ सहित स्वदेशी र विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ ।
२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको छ । पूर्वी नेपालका फुटबलप्रेमी दर्शकमाझ लोकप्रिय मानिने प्रतियोगिता प्रत्यक्ष प्रसारणमार्फत देश तथा विदेशका दर्शकले अवलोकन गर्दै आएका छन् । भरिभराउ रंगशाला, अनुशासित दर्शक संस्कृति र प्रतिस्पर्धात्मक खेलस्तर प्रतियोगिताको विशेषता रहने आयोजकको विश्वास छ ।
यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई खेल उद्घाटनका दिन नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने जनाइएको छ । त्यस्तै जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरणसमेत गरिने भएको छ ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय, प्रायोजक तथा स्वयंसेवकसँग आवश्यक समन्वय गरिसकिएको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
प्रतियोगिताका लागि खेल मैदान मर्मतको काम पनि सम्पन्न भएको छ भने बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको छ । मञ्च सजावटसहित सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक गिरीले जानकारी दिए ।
सोही अवसरमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले भद्रपुरमा रहेको गोल्डकपको प्रतीक मस्कट ट्रफी हस्तान्तरण गर्दै खेल सफलताको शुभकामना व्यक्त गरेका थिए ।



