बिर्तामोड, माघ २४ । साँघुरो भएकै कारण दिनहुँ जाम हुँदै आएको बिर्ताबजार पश्चिम डोमालाल राजवंशी रंगशाला जाने बाटोको अधुवा पुलमा गोल्डकपले अझ धेरै सडकजाम थपिने भएको छ ।

आजदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा झापा गोल्डकप शुरु हुँदैछ । बिर्ताबजारदेखि डोमालाल राजवंशी रंगशाला जाने बाटोमा सँधैभरि जाम हुने गरेको छ । छोटो शाखा बाटो भएकाले धेरै सवारी साधनहरु बिर्ताबजारबाट यातायात व्यवस्था कार्यालय हुँदै बिर्तामोड निस्किने गरेका छन् ।
दुईतिर फराकिलो बाटो र बीचमा साँघुरो अधुवा खोलाको पुलका कारण त्यहाँ सवारी साधनको जाम हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक सन्तोष राईले बताए । उनले अधुवा खोलाको पुलमा आजैदेखि ट्राफिक प्रहरी राखेर वान वे बनाउन लागिएको जानकारी दिए ।
बिर्ताबजारबाट डोमालाल राजवंशी रंगशाला जाने र रंगशालाबाट फर्किने सवारी साधनलाई यातायात व्यवस्था कार्यालयको बाटो प्रयोग गर्न लगाइने प्रहरी निरीक्षक राईले बताए । सडकजामसंगै गोल्डकपमा पार्किङको समस्या पनि देखिएको छ ।



