भद्रपुर, माघ २४ ।आयोजक भद्रपुर क्रिकेट क्लव मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


आज भएको समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतको क्रिकेट कोचिङ उपाधय नयाँ दिल्लीलाई ८ विकेटले पराजित गर्दै दुई जीतका साथ भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो व्याटिङ रोजेको नयाँ दिल्लीले १९.२ ओभरमा सबै विकेट गुमाएर ११३ रनको सामान्य योगफल तयार गरेको थियो । जवाफमा भद्रपुरले २ विकेटको क्षतिमा १४.३ ओभरमै लक्ष्य पूरा गरेको थियो ।

ब्याटिङतर्फ भद्रपुरका कप्तान अंकित सुवेदीले ४३ बलमा सर्वाधिक ४३ रन बनाए भने नयाँ दिल्लीका तर्फबाट अकित रावतले २९ बलमा सर्वाधिक ३९ रन बनाए । नयाँ दिल्लीका ८ जना ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ भद्रपुरका लागि मुहमद आदिल आलमले ४ ओभरमा २० रन खर्चिएर सर्वाधिक ३ विकेट लिए भने नयाँ दिल्लीका तर्फबाट सबाकरिमले ४ ओभरमा २४ रन खर्चिएर १ विकेट लिए ।

आइतबारदेखि समूह बीका खेल हुनेछन् । पहिलो खेल गण्डकी हिरोज क्लव पोखरा र भारतको ग्लोबल स्टार लखनउ तथा दोस्रो खेल फ्रेण्डस् युथ क्लव डडेलधुरा र स्नोलायन क्लव सिक्किम भारतबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्