झापा, माघ २५ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९ रन बनाए । इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिए ।
यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायो । इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो ।
यसअघि आजै भएको पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । यस्तै आजको तेस्रो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् ।
प्रतियोगितामा २० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।
हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।



