भद्रपुर,माघ २५ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज समूह बी को दुई खेल भएका छन् ।

पहिलो खेलमा भारतको लखनउ विजयी भएको छ भने दोस्रो खेलमा नेपालको डडेल्धुराले जित निकालेको छ ।
पहिलो खेलमा ग्लोबल स्टार लखनउले गण्डकी हिरोज पोखरालाई ५५ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

जवाफमा पोखरा १६.५ ओभरमा अलआउट हँुदै ८८ रनमा समेटियो । ब्याटिङमा लखनउका तर्फबाट अनुभव सिंहले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ६६ रन बनाए । बलिङमा पोखराका तर्फबाट सिब्रिन श्रेष्ठले ४ ओभरमा ११ रन खर्चिएर २ विकेट लिए ।

यसैगरी पोखराका तर्फबाट ब्याटिङमा दिपकप्रसाद डुम्रेले सर्वाधिक २४ रन बनाए भने पोखरालाई सस्तैमा समेट्न लखनउका तर्फबाट शिवम् अजयले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । उनी म्यान अफ म्याच भए ।

दोस्रो खेलमा भारतको स्नोलायन सिक्किमलाई ६ विकेटले पराजित गर्दै नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुराले आफ्‌नो समूहमा विजयी सुरुवात गरेको छ ।

पहिले ब्याटिङ गरेको सिक्किमले १९.२ ओभर खेल्दै केवल ७१ रन बनायो । डडेल्धुराले सो न्यून लक्ष्य १२.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

ब्याटिङमा सिक्किमका तर्फबाट रुसभ राथोड र सौरभ कुमारले समान १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । सिक्किमलाई सस्तैमा समेट्न डडेल्धुराका तर्फबाट अभिषेक गौतमले ३.२ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्