सिड्नी, अष्ट्रेलिया । झापा जिल्लाबाट अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको साझा संस्था झापाली समाज अस्ट्रेलियाले आफ्नो १३औँ वार्षिकोत्सव तथा ७औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै अजय राजवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

सिड्नीको ग्रानभिलस्थित रातो घरमा सम्पन्न साधारणसभाले निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
कार्यक्रममा निर्वतमान अध्यक्ष अशोक उप्रेतीको नेतृत्वमा रहेको कार्यसमितिले एक समारोहबीच नव–निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथसहित जिम्मेवारी हस्तान्तरण गरेको थियो। निर्वाचन समितिका तर्फबाट जविन श्रेष्ठ, अशोक ओली र सीताराम घिमिरेले शपथ ग्रहण गराएका थिए।

नयाँ कार्यसमितिमा अध्यक्ष अजय राजवंशी चयन भएका छन्। उपाध्यक्षमा मदन धौराली, सचिवमा दिपेन्द्र ओडारी, सह–सचिवमा कौशलराज सिटौला र कोषाध्यक्षमा लुना सिवाकोटी निर्वाचित भएका छन्। यस्तै कार्यसमिति सदस्यहरूमा सञ्जीव पराजुली, रोशन धौराली, प्रल्हाद घिमिरे, अशोक बी. भेटवाल, हिमाल कडरिया, नवीन गौतम, जनक उप्रेती, अमित श्रेष्ठ, दिपेन्द्र बुढाथोकी र चन्द्रकुमार ढकाल रहेका छन्।

नव–निर्वाचित अध्यक्ष राजवंशीले समाजले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा आभार व्यक्त गर्दै एकता, पारदर्शिता र सहकार्यलाई प्राथमिकतामा राखी झापाली पहिचान, संस्कृति र भविष्यको संरक्षणमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए। उनले अष्ट्रेलियामा रहेर सामाजिक, सांस्कृतिक तथा परोपकारी अभियानहरूलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट प्रतिनिधित्व गर्दै संरक्षक भवानी ओली, संरक्षक दिनेश पोखरेल, उपाध्यक्ष दीपक चुडाल, कोषाध्यक्ष उमेश पोखरेल, पूर्व उपाध्यक्ष सन्तोष सिटौला, पूर्व उपाध्यक्ष भूपाल सिटौला र पूर्व महासचिव रूपराज मैनाली सहभागी भएका थिए। उनीहरूले विश्वभर छरिएर रहेका झापाली समुदायलाई एकआपसमा जोड्न झापाली समाज अस्ट्रेलियाको भूमिकाको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

यसका साथै कार्यक्रममा एनएसडब्लु राज्यका वाणिज्यदूत संजिव शर्माले प्रवासी संस्थाहरूले मुलुकको सामाजिक र आर्थिक विकासमा खेलेको भूमिकाको चर्चा गर्दै नयाँ नेतृत्वलाई बधाइ ज्ञापन गरे। एनआरएनए ओसेनिया संयोजक दिनेश पोखरेल, उप–संयोजक अरुण ठाकुर, एनआरएनए कोषाध्यक्ष निजन चौलागाई, नयाँका अध्यक्ष बीपिन थापा, सामाजिक अभियन्ता केशव जोशी, डा. राजु मानन्धर, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष कृष्ण तिवारी, चलचित्र निर्देशक शोभित बस्नेत तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

झापाली समाज अस्ट्रेलियाले विगत १३ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्ने झापाका नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवा, सांस्कृतिक संरक्षण र आपसी सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्