झापा,माघ २६ ।झापा गोल्डकपले जग्गादाता स्वर्गीय डोमालाल राजवंशीको अर्धकदको शालिक अस्थायी रुपमा भएपनि अनावरण गरेर दाता परिवारको कुण्ठामा अलिकति सान्त्वना दिएको छ ।

डोमालाल राजवंशीले दान दिएको करोडौ मूल्यको डोमालाल राजवंशी रंगशालामा सातौ पटक झापा गोल्डकप संचालन भइरहँदा समेत आफूहरुको माग संबोधन नभएको भन्दै दाता परिवारसंगै सिंगो राजवंशी समुदायले गुनासो गर्दै आएका थिए । जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशीले दिएको जग्गामा करोडौको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अबस्थालाई मनन गरी कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने , डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग छैठौ झापा गोल्डकपकै बेला राखिएको थियो । जुन मागप्रति तत्कालीन अध्यक्ष बिनोद बस्नेत सकारात्मक भएका थिए ।
विभिन्न चार बुँदे मागसहितको ज्ञापनपत्र दुई वर्षअघि २०८० फागुन ८ गते आफूहरुले झापा गोल्डकपका अध्यक्ष बस्नेत र बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई बुझाएको प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले स्मरण गराए । ती मागहरुप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले डोमालालको शालिक निर्माण गर्नका लागि अर्डर गरिसकेको र आफ्नै कार्यकालमा सो शालिक स्थापना गरिने आश्वस्त पारेका थिए ।
त्यस्तै छैठौं गोल्डकपबाट डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकोमा बचत भएमा त्यसलाई थपेर एक लाखसम्म सहयोग गर्ने आश्वासन दिएका थिए । जुन बस्नेतले पूरा पनि गरेका थिए । त्यस्तै डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने मागप्रति पनि उनी सकारात्मक देखिएका थिए ।
सोही मागसहितको ज्ञापनपत्र बिर्तामोड नगरपालिकाका नगर प्रमुख प्रसाईलाई बुझाउँदा उनले ती मागका सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गराउने आश्वासन दिएकी थिइन् ।
पूर्व अध्यक्ष बस्नेतले जीवित रहँदै डोमालालको शालिक भारतमा निर्माण गरी ल्याइसकेका थिए भने छैठौ गोल्डकपपछि डोमालालकी छोरी सम्पत्तिको घर निर्माण गर्न आर्थिक संकलन थालेका थिए । त्यसक्रममा सहयोगीहरुबाट करिव १५ लाख रुपैयाँ सहयोग दिने बचन प्राप्त भएको थियो ।
शालिक निर्माण भएर आइसकेको अबस्थामा र घर निर्माणका लागि सहयोग गर्न सहयोगीहरु तयार रहेको अबस्थामा समेत दुई वर्षसम्म न शालिक स्थापना भयो न घर नै निर्माण भयो । बिर्तामोड नगरपालिका र ३ नं वडा कार्यालयले जग्गा व्यवस्थापन नगरिदिएको भन्दै गोल्डकप परिवार पन्छिदै गयो ।
त्यसबीचमा अध्यक्ष बस्नेतको अकल्पनीय निधन भएपछि डोमालालको परिवारलाई झनै बेवास्ता गरियो । गोल्डकपको सचिवालयमा डोमालालको शालिक अलपत्र पर्यो । जसका कारण डोमालालको परिवार र सिंगो राजवंशी समुदाय नै कुण्ठित बनेको थियो ।
सातौ गोल्डकपको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष केदार गिरीले हठात संझिएर आफूहरुलाई बोलाएर छलफल गरेपछि करिव दुई वर्षदेखि अलपत्र डोमालालको शालिकलाई अस्थायी रुपमै भएपनि उद्घाटनका दिन अनावरण गरिएको सम्पादक राजवंशीले बताए । छलफलमा दाता परिवार र राजवंशी समुदायमाथि उपेक्षा गरिएको भन्दै आफूहरुले आफ्ना माग सुनुवाई नभएकोतर्फ ध्यानाकर्षण गराएको राजवंशीले जानकारी दिए ।
डोमालालको शालिक अस्थायी रुपमा मात्र अनावरण भएको हो । गोल्डकप समापन भएपछि त्यसलाई फेरि सचिवालयमा राखिने भएको छ । त्यसकारण दीगो र व्यवस्थित रुपमा चाँडो भन्दा चाँडो शालिक पुनर्स्थापना गर्ने र छोरी सम्पत्तिको घर निर्माण गरिदिने प्रतिवद्धता पूरा गर्न बाँकी रहेको राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशीले बताए ।
ती दुवै काम पूरा गर्ने अध्यक्ष गिरीले प्रतिवद्धता जनाएका छन् ।त्यस्तै डोमालालको परिवारका लागि २५ हजार रुपैयाँ दिने निर्णय गरिएकोमा त्यसलाई बढाएर उद्घाटनका दिन एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
करिव १३ विगाह जग्गा दान दिएका डोमालाल राजवंशीको परिवारको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ ।



