झापा, माघ २७ ।प्रहरी सेवाबाट अवकाश हुनै लाग्दा ढुण्डीराज गिरी प्रहरी निरीक्षक(इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक(डीएसपी) मा बढुवा भएका छन् ।

गृह मन्त्रालय(सचिवस्तर) को निर्णयले बिर्तामोड निवासी गिरी प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका हुन् ।

गिरीलाई आइतवार एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।पदोन्नति भएका प्रहरी नायव उपरीक्षक गिरीलाई प्रहरी नायव महानिरीक्षक घिमिरेले हार्दिक बधाईसहित धन्यवाद दिएका छन् ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापालगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गिरीको अवकाश हुन अब एक महिना मात्र बाँकी रहेको छ । २०५२ फागुन २४ गते प्रहरी जवानबाट उनले प्रहरी सेवामा प्रबेश गरेका थिए । त्यसपछि २०५४ चैत १६ मा प्रहरी सहायक निरीक्षकमा खुल्ला प्रतियोगिताबाट नाम निकाल्न सफल भएका थिए । २०५९ जेठ ६ गते प्रहरी नायब निरीक्षक र २०७१ चैत १ गते प्रहरी निरीक्षक हुँदै उनी दुई दिनअघि प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुन सफल भएका हुन् ।

२०३३ साल साउन २० गते पिता वेदप्रसाद र माता देवकुमारी गिरीको सन्तानको रुपमा जन्मिएर स्नातकसम्मको अध्ययन गरेका गिरी सहयोगी र मिलनसार मानिन्छन् । प्रहरी सेवाको क्रममा नुवाकोट, प्युठान, काठमाण्डौ, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, पाँचथर , झापालगायतका जिल्लामा पुगेर उनले जिम्मेवारी निर्वाह गरेका छन् ।

प्रहरी सेवा पदक, दुर्गम सेवा पदक, गद्धी आरोहण पदक, पूर्व क्षेत्रबाट प्रदान गरिने “पुलिस अफ दी मन्थ“ लगायत दर्जनौं पुरस्कारद्वारा उनी सम्मानित भएका थिए ।२०७३ सालमा उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय प्रमुख भई ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्य गर्दा धेरै संघ संस्थाहरुले सामूहिक रुपमा सम्मान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्