झापा, माघ २८ । लागूऔषध सेवन गर्नकै लागि धेरै नेपालीहरु भारतको पानीट्यांकी जाने गरेको तथ्य प्रमाणित भएको छ ।

पानीट्यांकीबाट फर्किने नेपालीहरुलाई लागूपदार्थ सेवन(लापसे) चेकजाँच गर्दा करिव आधा जतिले लागूऔषध सेवन गरेर आएको भेटिएको हो । घरायसी उपभोग्य सामान खरिदसंगै लागूऔषध सेवन र खरिद गर्न जानेहरुको संख्या बढ्दै गएको छ ।

मेचीनगर –६ मेची पुलमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजना तथा लायन्स क्लब अफ मेचीनगर र मेचीनगर आधारभूत अस्पतालको सहकार्यमा आज लापसे चेकजाँच गरिएको थियो । त्यसक्रममा २९ जना अटो, सिटी र मोटरसाइकल चालकलाई चेकजाँच गर्दा १३ जनाले लागूऔषध सेवन गरेको भेटिएको हो । लागूऔषध सेवन गर्नेहरुमा २ महिला र ११ पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको प्रमुख आतिथ्यमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निशेष चापागाँई , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईलगायतको कमाण्डमा चेकजाँच टोली खटिएको थियो ।

दिउँसो ३ः१५ बजेदेखि साँझ ४.५५ बजेसम्म सवारी चालकहरुलाई स्वास्थ्य परीक्षण तथा लापसे चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । उनले सीमावर्ती क्षेत्र भएकाले झापामा लागूऔषधको अबस्था चिन्ताजनक रहेको बताए ।

केही महिनाअघि यात्रुवाहक बसका चालकहरुलाई लापसे चेकजाँच गरिएको थियो । त्यसबेला पनि धेरै सवारी चालकहरुले लागूऔषध सेवन गरेको भेटिएको थियो । मादक पदार्थ सेवन( मापसे) चेकजाँचसंगै ट्राफिक प्रहरीले लापसे चोकजाँचलाई पनि निरन्तरता दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राईले जानकारी दिएका छन् ।

लापसे पोजेटिभ देखिएका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा ल्याइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्