झापा,माघ २८ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले देशको नेतृत्वको लागि आगामी निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन् ।

चुनाव प्रचारका लागि झापा आइपुगेका पूर्व ऊर्जामन्त्रीसमेत रहेका घिसिङले बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै राजनीतिक क्षेत्रलाई दुर्गन्धबाट हटाउन उज्यालो नेपाल पार्टी आएको बताए । यदि नेतृत्व प्रधानमन्त्रीको भए मात्र देशमा परिवर्तन हुन सम्भव भएकाले आफूले पनि प्रधानमन्त्रीको आवश्यकता रोजेको तर पदकै लागि राजनीति नगरेको बताए । आफू पदको लागि नभएर परिवर्तनको लागि राजनीतिमा आएको भन्दै त्यसको लागि चुनावी प्रकृयामा गए मात्र नेतृत्व परिवर्तन सम्भव भएको उनको भनाई छ ।

रास्वपासंगको सहमति भंग गरेपछि उज्यालो नेपाल पार्टी स्वतन्त्र भएर अगाडी बढेको बताउँदै घिसिङले राष्ट्रिय परिवर्तन पार्टी जोडिएर जेनजीको भावनालाई समेत समेट्न अगाडी बढेको धारणा राखे ।

तीन महिनामा पार्टी एकदमै ठुलो भैसकेको बताउँदै उनले १२१ ठाउँमा उम्ममेदवारी दिएको र पार्टीले अधिकांश क्षेत्रमा जित्ने दावीसमेत गरे ।मन्तव्यअघि आयोजित र्‍यालीमा निर्वाचन आचारसंहिता उल्लंघन गरी नाराहरु समेत लगाइएको थियो । र्‍यालीलाई मुक्तिचोकमा होल्ड गराइ घिसिङले बजार तथा पसल–पसलमा भोट मागेका थिए । झापा क्षेत्र नं २ मा उज्यालो नेपाल पार्टीका तर्फबाट सीके बेघा उम्मेदवार बनेका छन् ।

बिर्तामोडअघि झापा क्षेत्र नं १ को मेचीनगरमा आयोजित चुनावी र्‍यालीमा घिसिङ सहभागी भएका थिए । मेची पुलमा नेपालको झण्डा फहराउने कार्यक्रम गरिएको थियो ।सहभागीहरुले ‘कुलमान घिसिङ जिन्दावाद,भोट केमा चिममा ,समानुपातिकतर्फ बाँसुरीमा,अबकी बार कुलमान सरकार,उज्यालो नेपाल पार्टी जिन्दावाद’ लगायतका नारा लगाएका थिए । काँकरभिट्टामा कार्यकर्तालाई संक्षेपमा संबोधन गर्दै पार्टी अध्यक्ष घिसिङले झापा क्षेत्र नम्वर १ का उम्मेदवार नरेशकुमार लावतीलाई बिजयी गराउन आव्हान गरेका थिए ।

त्यस्तै पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता (घोषणा) पत्र कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नभएको बताएका छन् ।

‘राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन । कार्यान्वयन गर्ने खालको चुनावी प्रतिबद्धता पत्र दलहरूले ल्याउनुपर्छ र त्यसैले उज्यालो नेपाल पार्टीले देशको समृद्धि र सुशासनलाई प्रमुख प्राथमिकतामा राखी कार्यान्वयन गराउने किसिमको प्रतिबद्धता पत्र ल्याउँदैछ । त्यो प्रतिबद्धता पत्र अबको दुई–तीन दिनभित्र सार्वजनिक गरिन्छ,’ अध्यक्ष घिसिङले भने ।

यो देशमा धेरै राजनीतिक परिवर्तनहरू भए । जनताले चुनेर पठाएका धेरै नेताहरूले नेतृत्व पनि गरे । तर, यो देशमा समृद्धि र सुशासनको कुरा कहिले पनि पूरा नभएको बताउँदै अध्यक्ष घिसिङले भने, ‘देशको विकास, समृद्धि र सुशासनको विषयलाई अब हामीले अगाडि बढाउनु पर्छ । अब नयाँ नेतृत्वले भ्रष्टाचारमुक्त समाज, विभेदरहित समाज, देशमै युवाहरूलाई रोजगारीको व्यवस्था र देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने परिकल्पना बोकेर हामी अघि बढिसकेका छौँ ।’

घिसिङका अनुसार उज्यालो नेपाल पार्टी डेलिभरी दिने पार्टी हो । भाषण र गफ होइन, काम र परिणाममा विश्वास गछौं । ‘परिणाम लिएर आएको पार्टीलाई आम जनताले विश्वास गर्नुपर्छ र नेतृत्वमा चुनेर पठाउनुपर्छ,’ उनले थपे । हिजोको जेनजी आन्दोलनको जुन एउटा माग थियो । त्यो मागलाई सम्बोधन गर्न र यो देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनका लागि नयाँ नेतृत्व र नयाँ सोच भएकालाई छान्नु पर्ने उनको भनाई छ ।

त्यस्तै दमकमा पनि घिसिङको नेतृत्वमा चुनावी कार्यक्रम गरिएको थियो । दमककको आकाशे पुलमुनि केन्द्रीय अध्यक्ष घिसिङ, राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल , झापा क्षेत्र नं ५ उम्मेदवार सबिन चाम्लिङ राई , जेनजी युनाइटेडकी प्रतिनिधि सदीक्षा राईलगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्