इटहरी, माघ २९ । प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् ।

सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी आइपुगेकी प्रधानमन्त्री कार्कीले कोशी प्रदेशका निर्वाचन सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखसँग छलफल गरेकी हुन् ।

छलफलमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल र नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेसहित विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी र प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे प्रस्तुतिकरण दिएका थिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीको प्रशंसा गर्दै आगामी दिनमा पनि सबै निकायबीच थप समन्वय र चुस्त व्यवस्थापनका साथ अघि बढ्न निर्देशन दिइन् । उनले भनिन्, “छोटो समयमा तपाईँहरूले राम्रो काम गर्नुभएको छ । यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो । जनताले मत हाल्न मात्र बाँकी रहने गरी तयारी पूरा भएको महसुस गरेको छु ।”

प्रधानमन्त्री कार्कीले कुनै पनि तत्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्काल निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् । सामाजिक सञ्जाल वा अन्य माध्यमबाट हुने भ्रामक गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले देशले निकास पाउनका लागि निर्वाचनको विकल्प नरहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले बिहीवार नै सोलुखुम्बुको नाम्चे, सल्लेरी र भोजपुर सदरमुकाम पुगेर निर्वाचनको वस्तुस्थितिबारे जानकारी लिएकी थिइन् । भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलगायत सहभागी छन् । कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा हुन लागेको निर्वाचनका लागि ५१ हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्