झापा, फागुन १ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने झापाका एक दर्जनभन्दा बढी उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

निर्वाचन आयोगले प्रतिवन्ध लगाएको कार्य गर्ने १३ जना उम्मेदवारविरुद्ध उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दश जनामाथि मौखिक र तीनजनामाथि लिखित उजुरी परेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए । मौखिक र लिखित दुवै उजुरीउपर कार्वाही अघि बढाइएको उनले जानकारी दिए ।

भद्रपुरमा आयोजित ‘निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिता लागू गरिएको बताए ।

यसैबीच यही २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुव्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले झापामा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रममा सञ्चारकर्मीलाई जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले फागुन ३ गतेदेखि जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिने जानकारी दिए ।

मतदान प्रक्रियालाई सरल बनाउने, मत बदर हुने अवस्था घटाउने र मतदातालाई सचेत गराउने लक्ष्यसहित निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । सोही कार्यक्रमअन्तर्गत झापाका १३१ वटै वडामा अभियान सञ्चालन गरिने उनको भनाई छ ।

प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने र उनीहरूले मतदाताको घरघर तथा बस्तीमा पुगेर नमूना मतपत्र प्रयोगमार्फत मतदान प्रक्रिया, मताधिकारको महत्व र निर्वाचनको उद्देश्यबारे जानकारी गराउने कार्यलय प्रमुख नेपालको भनाई छ ।

मतदाता शिक्षाले निर्वाचनमा जनसहभागिता अभिवृद्धि गर्नुका साथै बदर मतको अनुपात घटाउन उल्लेखनीय योगदान पुग्ने कार्यालयको अपेक्षा रहेको उनले बताए ।

आम नागरिकलाई मतदान प्रक्रियाप्रति सचेत बनाउने उद्देश्यसहित कार्यक्रम अगाडि बढाइएको जनाइएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले निर्वाचनको पारदर्शिता र मतदाता शिक्षाको आवश्यकताबारे आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, चारआलीस्थित नेपाली सेनाको अरिदमन गणका प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापाका प्रमुख अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उमेश पाण्डेलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्