झापा । नेपाललाई ९ विकेटले पराजित गर्दै वेस्ट इन्डिज ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ मा प्रवेश गरेको छ ।

नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले मुम्बईको वानखडे रंगशालामा एक विकेटको क्षतिमा १५.२ ओभरमै पूरा गरेको थियो ।

वेस्ट इन्डिजका ओपनर ब्याटर ब्रान्डन किंग २२ रन बनाई आउट भए । नन्दन यादवको बलमा कुशल भुर्तेलले मिडअनमा उनको क्याच लिएका थिए । किंग र कप्तान साई होपले ६ ओभरभित्र पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि होप र हेटमायरले ४१ बलमा अर्धशतकीय साझेदारी पूरा गरेका थिए, जसमा हेटमायरको योगदान ३७ रनको थियो । त्यसपछि भने होप आक्रामक बनेका थिए ।

यी दुई ब्याटरले दोस्रो विकेटमा कुल ५९ बल खेली ९१ रनको साझेदारी गरे । होप ६१ र हेटमायर ४६ रन बनाई अविजित रहे । होपले ४४ बल खेलि ५ चौका र ३ छक्का तथा हेटमायरले ३२ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजले लगातार तेस्रो खेल जित्दै अर्को चरणमा स्थान पक्का गरेको हो । नेपालले भने लगातार तेस्रो खेलमा पराजय भोगेको हो । नेपालले मंगलबार स्कटल्यान्डसँग समूहचरणको अन्तिम खेल खेल्ने छ ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीको ५८ रन बनाएपछि मात्र नेपालले हेर्नलायक स्कोर बनाएको हो । नेपाली खेलाडीको ट्वान्टी–२० विश्वकपमा यो केवल दोस्रो अर्धशतक हो र उच्च स्कोर पनि हो ।सुवास खकुरेलले २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध यसअघि ५६ रन बनाएका थिए ।

नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । अकेल हुसैनले कुशल भुर्तेललाई पाँचौँ बलमा बोल्ड गरेका थिए ।
कप्तान रोहित पौडेल ७ बलमा ५ रनमात्र बनाई म्याथ्यु फोर्डको बलमा एलबीडब्लू आउट भए । त्यसपछि जेसन होल्डरले शेख दाजुभाइ आसिफ र आरिफलाई आउट गरे ।
लोकेश बमले १३ रन बनाए । १५ बल खेली २ चौका प्रहार गरेका उनी सामर जोसेफको लेग साइडमा गएको बलमा विकेटकिपरलाई क्याच दिन पुगे । दीपेन्द्र र गुलशन झाले छैटौं विकेटमा २६ बलमा २७ रनको साझेदारी गरे । एक छक्का प्रहार गरेका गुलशनलाई रोस्टन चेजले बोल्ड गरिदिए ।

दीपेन्द्र र सोमपाल कामीले सातौं विकेटमा २६ बलमा ५४ रनको साझेदारी गरे । नेपाली इनिङ्सको यो सबैभन्दा ठूलो साझेदारी थियो । होल्डरले फालेको १८ औं ओभरमा नेपालले १६ रन जोडेको थियो । त्यसमा सोमपालले होल्डरलाई लगातार ३ चौका प्रहार गरे । दीपेन्द्रले २ छक्का प्रहार गरेपछि नेपालले १९ ओभरमा कुल १८ रन जोडेको थियो ।

दीपेन्द्र अन्तिम ओभरमा होल्डरको बलमा लङअफमा क्याच दिन पुगे । उनले ४७ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । सोमपाल १५ बलमा २६ रन बनाई अविजित रहे । उनले ४ चौका प्रहार गरे । करण केसी १ रन बनाई अन्तिम बलमा आउट भए ।

वेस्ट इन्डिजबाट होल्डरले ४ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चे । फोर्डले ४ ओभरमा १ मेडन राख्दै १० रनमात्र खर्चेर १ विकेट लिए । फोर्डसँगै हुसैन, जोसेफ र चेजले १–१ विकेट लिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्