झापा, फागुन ३ । शिक्षासेवी स्वर्गीय गुरुभक्त न्यौपानेको स्मृतिमा गुरुभक्त न्यौपाने स्मृति अन्तर विद्यालय आमन्त्रण फुटबल प्रतियोगिता शुरु भएको छ ।

कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुल बिर्तामोड ४ को आयोजनामा प्रथम गुरुभक्त न्यौपाने स्मृति अन्तर विद्यालय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि शुरु भएको हो ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले सो प्रतियोगिताको उद्घाटन गरिन् । प्रतियोगितामा एमिटी ,देवकुल, शुक्रराज ,विराटज्योति, न्यूटन्स, कोहेड, टावर टेम्पल, देवी मावि, एभरेस्ट, प्रशान्ति, कञ्चनजङ्गा, कञ्चन ,सरस्वती एन्जल्स ,फनमिन, सिद्धार्थ, गोमेन्द्र ,सरस्वती मावि, निदि ,कन्काई र सेन्ट जेभियर्स गरी संस्थागत र सामुदायिकका २० वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ।
आज भएको उद्घाटन खेलमा आयोजक कञ्चनजङ्गा स्कुल विजयी भएको छ । कंचन स्कुललाई टाइब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गरी कञ्चनजङ्गा विजयी बनेको हो । सो खेलमा विजेता टीमका कृष्ण अधिकारी म्यान अफ द म्याच बने । भोलि चारवटा खेल हुने छन् । पहिलो खेल देवी मावि र एभरेस्टबीच , दोस्रो खेल फनमिन र सिद्धार्थबीच , तेस्रो खेल कोहेड र टावर टेम्पलबीच तथा चौथो खेल एमिटी र देवकुल स्कुलबीच हुने खेल संयोजक दीपक सिटौलाले जानकारी दिएका छन् ।
विजेता विद्यालयले आकर्षक ट्रफीसहित नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने विद्यालयले नगद ६ हजार , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने विद्यालयले नगद ४ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने संयोजक सिटौलाले जानकारी दिए ।

कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षता तथा नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक , बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका सहायक प्राचार्य अनन्तकुमार राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षासेवी गुरुभक्त न्यौपानेको योगदान र प्रतियोगिताको औचित्यका बारेमा संस्थापक प्राचार्य डा. केशवराज न्यौपानेले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन प्रभात मिश्रले गरेका थिए ।



