झापा, फागुन ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो १ः३० बजे कनकाई ८ मिश्रा टोल बस्ने तुलबहादुर थापा मगरको घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डमा लागूऔषध ब्युरो काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको समेत टोली खटिएको थियो । सो टोलीले खानतलासी गर्दा मगरका छोरा बर्ष २२ का सौगात थापा मगरले आफ्नै घर पछाडी रहेको कुखुराको खोरमा राखेको प्लाष्टिकको ड्रमभित्र ९ एमएमको पेस्तोल ,एकथान म्याग्जिन र सोको गोली ४० राउण्ड फेला परेको थियो ।
सो हतियार ल्याई अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडबाट लुटेको पुष्टि भएको छ । हिजो फरार रहेका सौगात थापा मगर आज पक्राउ परेको जनाइएको छ । उनलाई कन्काई ८ का वर्ष ३२ का सूर्य राजवंशीले इप्रका बिर्तामोडबाट लुटेर दिएको खुलेको छ । राजवंशीलाई पनि पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।



