झापा, फागुन ४ । गत वर्ष अर्जुनधारामा भूमिसम्बन्धी समस्याका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्वसभामुख देवराज घिमिरेले सरोकारवालाहरुलाई हप्काएका थिए । सरोकारवालाहरुले अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कको जग्गालगायतका भूमि समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत समाधान नभएको गुनासो गर्दा सभामुख पदमा रहेका घिमिरेले उल्टै हप्काएका थिए । अहिले भोट माग्दै हिडिरहँदा मतदाताहरुले घिमिरेसंग बदला लिएका छन् ।

तीन दिनअघि बिर्तामोडको भद्रपुर रोडमा रहेका पसल–पसलमा पुगेर उनले भोट मागिरहँदा एकजना महिलाले हप्काएकी हुन् । उनले घिमिरेलाई यस पटक भोट नदिने भनेर ठाडै इन्कार गरेकी थिइन् । एकजना पसल संचालिकाले प्रतिवाद गरेपछि घिमिरे त्यहाँबाट चुप लागेर हिडेको एकजना प्रत्यक्षदर्शीले बताए । घिमिरेलाई मतदाताले हप्काएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

गत वर्षको पुष २६ गते अर्जुनधाराको भूमिसम्बन्धी समस्याका बारेमा अर्जुनधारा नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । त्यस अन्तरक्रिया कार्यक्रममा अर्जुनधाराका भूमिसम्बन्धी फोकल पर्सन वीरबहादुर राईले यसअघि सभामुख घिमिरेले १५ दिनभित्र केही गर्छु भनी आश्वासन दिएकोमा अहिलेसम्म केही नभएको गुनासो गरेका थिए । उनले ‘हुन्छ बहादुर र भोलि बहादुर’ भन्ने प्रवृत्ति नहटेको बताएका थिए ।

त्यस्तै बिर्तामोड बसपार्कबासीका तर्फबाट सुजन शिवाकोटीले ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन रुपमा आफूहरुको समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

आफूलाई ‘हुन्छ बहादुर र भोलि बहादुर’ भनेकोमा चित्त दुखाउँदै पूर्वसभामुख घिमिरेले झापाका जिम्मेवार व्यक्तिहरुबाट आएको त्यस किसिमको हल्का टिप्पणीबाट समस्या हल नहुने जवाफ दिएका थिए । अहिले चुनावको बेला नभएको भन्दै उनले आक्रोशित हुँदै भने,‘ अहिले चुनाव आएको छ र ? जे पनि भन्दिने ।’ यो तरिका बेठीक भएको भन्दै उनले राजनीतिलाई कमजोर पार्ने कोसिस नगर्न चेतावनीसमेत दिएका थिए ।

जनताको मत लिएर सभामुख बनेपछि सर्वसाधारण जनतालाई नगन्ने स्वभाव भएका घिमिरेका बारेमा चुनावकै बेला आफूहरुले विचार गर्नुपर्ने झापा २ का मतदाताहरुको प्रतिक्रिया रहेको छ । घिमिरे दोस्रो कार्यकालका लागि झापा २ मा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्