झापा, फागुन ४ । झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

आज बिहान गौरादह ४ मजुवास्थित भित्री सडकखण्डमा सोही ठाउँ बस्ने ५० वर्षीय भिमबहादुर दर्जी मकैबारीको पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी सवार प्रदेश नं. १–०१–०१६ प. ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थलनजिकै फेला परेको थियो ।
स्थानीयले देखेर आज बिहान प्रहरीलाई खबर गरेका थिए । दर्जी राति साथीको घर मजुवाबाट दुर्गाचोकतर्फ आउँंदै गरेको बुझिएको छ । घटनास्थलको प्रकृति, उनी सवार मोटरसाइकल लगायतको प्रारम्भिक अनुसन्धानमा सवारी दुर्घटना भई मृत्यु भएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृतको टोली खटिएर लाश पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ ।



