बिर्तामोड ,फागुन ५ । नेपाली कांग्रेस बिर्तामोड ८ का वडा सभापति उत्तम कटुवाल निर्वाचनमा सक्रिय भएर लागेसंगै १५३ जना जेनजी उमेर समूहका युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।

झापाको गरामनीमा आयोजित नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालनका लागि बिर्तामोड नगरपालिका वडा नं–८ को सम्पर्क कार्यालय उद्घाटनका अवसरमा बिर्तामोड ७, ८ र ९ नं वडाका त्यति धेरै युवाहरु एकैपटक कांग्रेसमा प्रवेश गरेका हुन् । विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र रहेका युवाहरुले कांग्रेसको नीति, सिद्धान्त र विचारबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताएका छन् ।
केही दिनअघि वडा सभापति कटुवालसहित २७ जनाले निष्क्रिय बस्ने घोषणा गरेका थिए । जुन निर्णयका कारण पार्टीभित्र हलचल मच्चिएको थियो । वडा कार्यालय व्यवस्थापनका लागि आवश्यक सहयोग गर्नेतर्फ उम्मेदवार र माथिल्लो तहका नेताहरुले चासो देखाएपछि वडा सभापति कटुवालसहितका कार्यकर्ताहरु सक्रिय भएर लागेका हुन् । वडा कार्यालयका लागि चुनाव प्रचार प्रसार समितिको आर्थिक समितिले एउटा टेबल र एउटा कुर्सी प्रदान गरेको छ भने स्वर्गीय हजुरबुवा खड्गबहादुर कार्कीको स्मृतिमा उनका नातिनातिनाहरु विराज + प्रियंका + उपासना कटुवालले ७५ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । त्यस्तै सूर्यप्रसाद कन्दङवा, गोपाल मैनाली , उदय कुँवर , गंगा चुडाल , दिनेश पराजुली र सीता पौडेलले १०–१० वटा कुर्सी सहयोग गरेका छन् । त्यस्तै जयकुमार प्रसाईले ५ हजार बराबरको सहयोग प्रदान गरेका छन् ।
वडा सभापति कटुवालसहितलाई पार्टीमा सक्रिय बनाउन र युवाहरुलाई पार्टी प्रवेश गराउन कांग्रेसका जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ, युवा नेताहरु सजेश शिवाकोटी र रोहित प्रसाईको सहयोग रहेको बताइएको छ ।
कांग्रेसमा प्रवेश गर्ने युवाहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले नजिकिदै गरेको प्रतिनिधिसभा निर्वाचनमा सही पार्टी र सही नेतृत्व चयन भएमात्रै जनताले सुख पाउने बताए । उनले नेपाली कांग्रेसका उम्मेदवारहरु हरेक जनताको दुःखसुखमा साथ–साथ रहेको बताउँदै कांग्रेसलाई देशको नेतृत्वमा पुर्याउन रुख चिन्हमा मतदान गर्न आम मतदाताहरुलाई आह्वान गरे ।
कार्यक्रममा झापा क्षेत्र नं–२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले २००७ सालदेखि अहिलेसम्म भएका ब्यवस्था परिवर्तन एवं संविधान घोषणाजस्ता महत्वपूर्ण काम कांग्रेसकै नेतृत्वमा भएको बताउँदै अहिले पनि देश संकटमा रहेकाले यसको निकासका लागि कांग्रेसलाई ठूलो पार्टी बनाउन अपिल गरिन् । उनले युवाहरुको प्रवेशले कांग्रेस युवामैत्री भएको बताउँदै युवाहरुको सहभागिताले आफ्नो जित सुनिश्चित भएको दावी गरिन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरीले कांग्रेसले राष्ट्रियता , लोकतन्त्र र समाजवादको मूल नारालाई आत्मसात गरी मुलुकलाई बचाउँदै आएको भनाई राख्दै जनताको सुख शान्तिका लागि कांग्रेसलाई मतदान गर्न आव्हान गरे ।
समानुपातिक उम्मेद्वार एवं कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटी, सुशिला ढकाल आचार्य, मनुमाया विश्वकर्मा, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, झापा क्षेत्र नं–२ का सभापति एवं निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनाली, जेनजी युवा अंगु सुब्बालगायतले मन्तब्य राखेका थिए । उदय कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने १५ जनाभन्दा बढी अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र उत्तम कटुवालले संयुक्त रुपमा गरेको कार्यक्रममा रुवि सिटौलाले स्वागत मन्तव्य राखेकी थिइन् ।



