दमक,फागुन ५ । झापा ५ का उम्मेदवार नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

मंगलबार दमकमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र–राष्ट्रियताको सवाल र पूर्वाधारलगायतका मुख्य विषय समेटिएको छ ।
नेकपा एमाले क्षेत्र नं.५ को ४२ बुँदे प्रतिवद्धता पत्रमा आ.व. २०८२/०८३ मा विनियोजित भई हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका कामहरू पूरा गर्न सशक्त पहलकदमी गरिने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने कार्यलाई तीव्रता दिइने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने, आदिबासी, जनजाति, दलित, सन्थाल, मुस्लिम लगायतका पछाडि परेका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याउने उल्लेख छ ।
यसैगरी स्वास्थ्य बीमा सेवालाई थप वृद्धि गर्दै अझै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडकहरूलाई क्रमशः कालोपत्रे गर्ने, अधुरो रहेका सबै सामुदायिक भवनहरूलाई क्रमिक रूपमा निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न, फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा एक–एकवटा सुविधासम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदानलाई विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ ।
सबै सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषिमा सिँचाईको सुविधालाई भूमिगत र सतही सिंचाईका माध्यमबाट व्यवस्थापन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै यान्त्रिकीकरणतर्फ उन्मुख गराई बजारीकरण गर्न पहल गर्ने, यस क्षेत्रका जनताको कृषि कर्मलाई मध्यनजर गरी आवश्यकता अनुसार जैविक मल कारखाना स्थापना गर्न पहल गर्ने, समग्र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने, सबै किसिमका अव्यवस्थित बजारहरूलाई व्यवस्थित गराउने उल्लेख छ ।
यस्तै दमक र गौरादह बजारलाई आधुनिकीकरण गर्दै गौरीगञ्ज बजारमा थालनी गरिएको स्मार्ट सिटीको कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गराउने, यस क्षेत्रमा रहेका अन्य बजारहरूलाई पनि व्यवस्थित बजारको रूपमा विकास गर्दै जाने, रतुवा, मावा, कमल खोलाको तटबन्ध कार्य पूरा गरी किस्नी, वाइसी, गेउरिया, भुत्लुङ, केर्खा , रामचन्द्रे, घान्दु लगायतका खोलाहरूमा आवश्यक तटबन्ध गर्ने, दमक– चिसापानी– रवि सडक पुनः ठेक्का लगाई निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता रहेको छ ।
यसैगरी दमक–३ को महेश चौकदेखि उर्लाबारी जोड्ने मावा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, दमक ३ स्थित बिजनेस टावरलाई सञ्चालनमा ल्याउने र आसपासको जग्गा ल्यान्डपुलिङ गर्न पहल गर्ने, दमकमा रहेका विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार क्षेत्र र लाजेको बाँधलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्ने, दमक–३ मा प्रस्ताव गरिएको मदन भण्डारी रङ्गशाला निर्माणमा पहल गर्ने विषयलाई पनि प्रतिवद्धता पत्रमा समेटिएको छ ।
एमालेले कमल–५ स्थित आदिवासी रंगशालालाई आधुनिक स्तरको रंगशालाको रूपमा निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने, दमक, कमल र गौरादह नगर अस्पताल साथै गौरीगञ्ज अस्पतालको स्तरवृद्धि गर्ने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडक चौडा गर्दै स्तरोन्नति गर्ने, हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम पूरा गर्ने, विराट बुद्धपार्कको काम पूरा गर्न पहल गर्ने, खानेपानी आयोजनाका सबै अधुरा निर्माण कार्य सम्पन्न गर्ने, प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी प्रबन्धका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
निर्माण सम्पन्न भएको दमक सभाहल सञ्चालनमा ल्याउने, कमलस्थित प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुविधासम्पन्न शिक्षण अस्पतालको रूपमा स्तरवृद्धि गर्ने, कमलस्थित साधु होलीलाई नमुना सिमसारको रूपमा र बाल्मीकि आश्रमलाई सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, स्तुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको वन क्षेत्रमा आम्दानीमूलक फलफूलका बिरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउने, गौरादह–६ तेलियाडाँगीबाट सिजुवा बजार जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने, गौरादह–५ चप्रामारीदेखि मोरङको कुनामारी जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता एमालेको रहेको छ ।
यसैगरी गौरादह–७ स्थित आदिवासी संग्रहालयको निर्माण कार्य पूरा गर्ने, गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रका विभिन्न पालिकाहरुमा सम्भाव्यता अध्ययन गरी नमूना खेती विस्तार गर्ने , गौरादहको नमूना खेती व्यवस्थित र आत्मनिर्भर बनाउन पहल गर्ने, गौरीगञ्जस्थित छोटी भन्सारलाई स्तरवृद्धि गर्ने, गौरीगञ्जमा रहेको चौनी सिमसार, मोजोलोम सामुदायिक र धोद्रामाटी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रमा भएका विभिन्न धर्म, जाति तथा सम्प्रदायसँग सम्बन्धित धार्मिक अनुष्ठान र प्रतिष्ठानहरूलाई संरक्षण तथा प्रवद्र्धन गरिने लगायतका विषयहरु रहेका छन् ।



