झापा, फागुन ६ । राप्रपाका सहमहामन्त्री तथा भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिकको चोरिएको मोटरसाइकल भेटिएको छ ।

गएराति अन्दाजी ९ बजे भद्रपुर नगरपालिका वडा न. ६ नेपाल टेलिकम कार्यालयको कम्पाउण्डभित्र पार्किङ गरी राखेको मल्लिकको बा ४७ प ८३९० न. को कालो कलरको हण्डा साईन मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल धनी सोही ठाउँ बस्ने ६६ वर्षीय भारतेन्दु मल्लिकले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराउनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक निरबहादुर गौतमको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

राति १;२० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी हवल्दार दलकिशोर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा देवकोटा पार्कमा सो मोटरसाइकल फेला परेको थियो ।

आज बिहान सो मोटरसाइकल मल्लिकका छोरालाई जिम्मा लगाइएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक मोति योन्जनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्