झापा, फागुन ६ । एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रतिष्पर्धी रहेको झापा ५ मा सबैभन्दा बढी मतदानकेन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेका छन् ।

झापामा जम्मा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदानकेन्द्रहरु तोकिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदातालाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थल र मतदानकेन्द्रको तीन तहमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अति संवेदनशीलका रुपमा राखिएको बताए ।
जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए ।
जिल्लाका २८५ मतदानस्थल र ८१५ वटा मतदानकेन्द्रमध्ये ९५ वटा मतदानस्थल र २८६ वटा मतदानकेन्द्र अति संवेदनशील रहेका हुन् । झापा क्षेत्र नं १ मा १६ वटा मतदानस्थल र ५४ वटा मतदानकेन्द्र , क्षेत्र नं २ मा १६ वटा मतदानस्थल र ५५ वटा मतदानकेन्द्र , क्षेत्र नं ३ मा १९ वटा मतदानस्थल र ४० वटा मतदानकेन्द्र , क्षेत्र नं ४ मा २५ वटा मतदानस्थल र ६७ वटा मतदानकेन्द्र तथा क्षेत्र नं ५ मा सबैभन्दा बढी १९ वटा मतदानस्थल र ७० वटा मतदानकेन्द्र अति संवेदनशील रहेको सुरक्षा स्रोतले जनाएको छ ।
झापा ५ को दमकमा ९ वटा , गौरादहमा ३ वटा , कमलमा ७ वटा र गौरीगंजमा एउटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।



