झापा, फागुन ९ । फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसलाई ठूलो धक्का लाग्ने भएको छ । एकपछि अर्को गर्दै कांग्रेस र एमालेका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्नेक्रममा गौरीगंज गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् ।

उनले सामाजिक संजालमार्फत आफू रास्वपामा गएको बताएका छन् । उनले लेखेका छन् , ‘हालसम्म म नेपाली कांग्रेस पार्टीको विभिन्न तह र तप्कामा बसेर काम गर्दै आएको भएता पनि आजको मितिबाट साधारण सदस्य समेत नरहने गरि नेपाली कांग्रेस पार्टी परित्याग गरि आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई मतदान गरि परिवर्तनको पक्षमा रहेको समेत जानकारी गराउँदछु । अन्त्यमा इमान्दार र निष्ठावान साथीहरू जो जहिले जहाँ रहेता पनि साथ र सहयोग गर्न तत्पर रहने छु । जय नेपाल ।’
यो प्रवेशले कांग्रेस र एमालेलाई धक्का लागेर रास्वपालाई गौरीगंज क्षेत्रबाट भारी मत आउने आंकलन गरिएको छ ।
त्यस्तै लामो समयदेखि झापा गाउँपालिकाबाट नेपाली कांग्रेसमा सक्रिय राजनीति गर्दै आएका ठमनाथ नेपाल (सन्तोष) पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
हिजो कनकाई नगरपालिकामा आयोजित झापा–४ को चुनावी बाचापत्र सार्वजनिक कार्यक्रममा नेपालले औपचारिक रूपमा रास्वपाको सदस्यता ग्रहण गरेका हुन्।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका नेपालले गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसमा नरहने घोषणा गरेका थिए। उनी हाल झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् भने विभिन्न संघ–संस्थामा आबद्ध रहँदै आएका छन्।
उनीसँगै झापा गाउँपालिकाका अगुवा नेता हरि दुलाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। स्थानीय राजनीतिमा प्रभावशाली व्यक्तिहरूको रास्वपामा प्रवेशले झापा–४ को राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ।



