बिर्तामोड, फागुन ९ । मनकामना काली मन्दिर तथा सत्संग भवन समिति बिर्तामोड–१०, बिराटपोखरको अध्यक्षमा हरिप्रसाद सिटौला चयन भएका छन्।

आज सम्पन्न छैठौं वार्षिक उत्सव तथा दोस्रो अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि सिटौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश सिटौला, सचिवमा रामप्रसाद खनाल, सहसचिवमा सुरेश थापा आले मगर, कोषाध्यक्षमा सुनिता निरौला चयन भएका छन्। त्यस्तै सदस्यहरूमा टेकेन्द्र थापा, रघुनाथ पाठक, यामनाथ सेढाई, अर्जुन तामाङ, गोमा संग्रौला र सन्तोष उप्रेती चयन भएका छन् ।
बन्दसत्रअघि प्रमुख अतिथि बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा बिराटपोखर टोल विकास संस्था बिर्तामोड–१० का अध्यक्ष कृष्णाकुमारी प्रसाई,टेकेन्द्र थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी कोषाध्यक्ष सुनिता निरौलाले आयव्यय सार्वजनिक गरेकी थिइन् भने सचिव सुरेश थापा आले मगरले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि गुरुङले बिर्तामोड–१० का २७ वटा टोल विकास संस्थामध्ये बिराटपोखरस्थित मनकामना मन्दिर रहेको यो टोल धार्मिक दृष्टिकोणले वडाकै उत्कृष्ट टोल भएको धारणा व्यक्त गरे।
कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, मन्दिर निर्माण जग्गा दान दिने दाता डिल्लीराम पाठक लगायत बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम मनकामना काली मन्दिर प्राङ्गण, बिर्तामोड–१० बिराटपोखरमा सम्पन्न भएको हो।



