झापा, फागुन १० । झापा २ मा १८ जना उम्मेदवार बनिरहँदा स्वतन्त्र उम्मेदवारी दिएका डा. युवराज संग्रौलाले आफू मात्र बौद्धिक उम्मेदवार भएको दावी गरेका छन् ।

हिजो साँझ बिर्तामोडमा पत्रकारहरुसंग कुरा गर्दै डा.संग्रौलाले आफूले हार्नु भनेको झापाको बौद्धिक वर्गको हार हुनु भएको बताए । नागरिक सर्वोच्चताका लागि राजनीतिमा होमिएको बताउने संग्रौलाले भने,‘ मलाई हारजितको तनाव छैन , मैले हारे भने नेपालको राजनीतिक प्रक्रिया २५ वर्ष पछि धकेलिन्छ , बौद्धिक वर्ग अझ धेरै पलायन हुन्छ ।’
राजनीतिक दलहरुले वौद्धिक वर्गलाई प्राथमिकता नदिएको बताउँदै उनले नेपालको राजनीतिक प्रणालीलाई सुधार गर्नकै लागि बौद्धिक वर्गको अगुवाई आफूले गरिरहेको बताए । नेपालको अर्थतन्त्र , औद्योगिक तथा परराष्ट्र नीति , विसर्जन कृषि, युवा पलायन,बेरोजगारीलगायतका एजेन्डा लिएर आफू चुनावी मैदानमा उत्रिएको उनको भनाई छ ।



