झापा, फागुन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीको चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिताविपरित सन्थाल बालकहरुलाई भाडामा प्रयोग गरेको पाइएको छ ।

हिजो झापाको भद्रपुरमा आयोजित ३ नं. क्षेत्रीय कार्यकर्ता भेलामा ओलीलाई स्वागत गर्नका लागि सन्थाल बालकहरुको नृत्य टोली बोलाइएको हो । तामझाम देखाउन एमालेले सन्थाल नृत्य टोलीलाई हाजिरा दिएर भाडामा ल्याएको थियो । जातीय पोशाक , गरगहना र बाजागाजासहितका सन्थालहरुलाई ल्याइएको थियो । अघिल्लो निर्वाचनमा मनोनयन दर्ताका बेला अधिकांश उम्मेदवारहरुले तामझाम देखाउन सन्थालहरुलाई भाडामा ल्याएका थिए ।
पूर्वी नेपालमा आदिकालदेखि बसोबासरत आदिवासी सन्थालहरु लोपोन्मूख अबस्थामा छन् । उनीहरुको संरक्षणका लागि नेपालका कुनै पनि राजनीतिक दलले वास्ता गरेका छैनन् । उनीहरुलाई राजनीतिक दलहरुले भोट बैंक र मनोरंजनको साधनको रुपमा मात्र प्रयोग गर्दै आएका छन् ।
चुनावी कार्यक्रममा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्नु भनेको निर्वाचन आचारसंहिता र नेपालको बाल ऐनविपरित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



