झापा,फागुन १० । झापा निर्वाचन क्षेत्र नं ५ मा बालेन शाहले निर्वाचन जित्ने राष्ट्रिय स्वतन्त्र पार्टीले तथ्यांकीय आधार प्रस्तुत गरेको छ ।

उमेर समूहका आधारमा मतदाताहरुलाई तीन भागमा वर्गीकरण गरी रास्वपाले झापा ५ मा आफ्ना उम्मेदवार बालेन शाहले निर्वाचन जित्ने दावी पेश गरेको हो । युवा, वयस्क र वृद्धवृद्धा गरी तीन भागमा मतदाताहरुलाई वर्गीकरण गरिएको हो ।
क्षेत्र नं ५ मा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् । रास्वपाका केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार कुल मतदातामध्ये ५० प्रतिशतभन्दा बढी वयस्क उमेर समूहका मतदाता छन् । ८५ हजारभन्दा बढी वयस्क मतदातामध्ये त्यस उमेर समूहबाट आफ्ना उम्मेदवारलाई ५३ प्रतिशत मत आउने उनले तथ्यांक प्रस्तुत गरे ।
त्यस्तै कुल मतदातामध्ये करिव ३१ प्रतिशत युवा रहेका छन् । युवा मतदाताहरुको समर्थन बढ्दै गई अहिले ६३ प्रतिशत पुगेको उनले दावी गरे । यसअघि ४२ प्रतिशत रहेकोमा विदेशबाट फर्किन थालेपछि आफूहरुको पक्षमा युवा मतदाताहरुको संख्या बढेर अहिले ६३ प्रतिशत पुगेको उनले बताए ।
त्यस्तै झापा ५ मा करिव ४७ सयको संख्यामा मतदाताहरु वृद्धवृद्धा रहेका छन् । ४३ प्रतिशत वृद्धवृद्धाले रास्वपाका उम्मेदवारलाई भोट दिने उनले दावी गरे । वृद्धभन्दा वृद्धाहरु बालेनप्रति बढी आकर्षित देखिएको ती केन्द्रीय नेताको बुझाई छ ।
उमेर समूहका आधारमा यसपटक दावी गरिएको मतदाताहरुको संख्या अघिल्लो निर्वाचनमा झापा ५ मा रास्वपाले ल्याएको समानुपातिक मतसंग भने विल्कुलै मेल खादैन । अघिल्लो निर्वाचनमा झापा ५ मा रास्वपाले एमालेपछि दोस्रो स्थानमा समानुपातिक मत ल्याएको थियो । एमालेले ३५ हजार ८७२ समानुपातिक मत ल्याउँदा रास्वपाले १८ हजार २०५ मत ल्याएको थियो । त्यस्तै कांग्रेसले १६ हजार ८५९ , माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत समानुपातिक मत ल्याएका थिए । निर्वाचनमा उमेर समूहको भन्दा पार्टीको मत निर्णायक हुन्छ ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । झापा ५ मा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् ।



