झापा, फागुन १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्व सभामुख देवराज घिमिरेमाथि खनिएका छन् ।

झापा २ मा एमालेका तर्फबाट उम्मेदवार बनेका घिमिरेलाई बिर्तामोडमा आएर सभापति लामिछानेले भोट माग्ने नैतिकता गुमाइसकेको टिप्पणी गरेका हुन् । संसदमा नेपाली जनताको आवाज उठाउँदै गर्दा सभामुख घिमिरेले माइक काटेको भन्दै बिर्तामोडमा आयोजित संक्षिप्त सभामा लामिछानेले पटक पटक भने,‘ कुन मुखले भोट माग्नुहुन्छ ?

भिजिट भिसामा लाखौं रुपैयाँ ठग्नेलाई कार्वाही गर्नका लागि आयोग र छानबिन समिति बनाउन माग गर्दा सभामुख घिमिरेले माइक काटिदिएको लामिछानेले बताए । ‘ हामीले नेपाली जनताको आवाज उठाउँदै गर्दा सभामुखले २१ जना सांसदलाई गलहत्याएर निकाल्नु भयो ’ उनले भने,‘ मुद्धाको किनारा नलागेसम्म उसको सांसद पद निलम्बन हुँदैन भनेर संसद नियमावलीमा उल्लेख भइरहँदा बाको आदेश मानेर मलाई दुई घण्टामा गलहत्याउनु भयो । ’

उनले घिमिरेले आफूलाई संसदबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गराउन आफूले पनि हस्ताक्षर गरेको स्मरण गर्दै लामिछानेले दलको रबर स्टाम्पलाई निर्वाचित गराएकोमा खेद प्रकट गर्दै आत्मालोचना गरे । लामिछानेले समाजसेवामा समर्पित पूर्व उपसभामुख इन्दिरा राना मगरलाई मानव तस्करको आरोप लगाएर ‘पाप’ गर्नेहरुलाई फागुन २१ गते जनताले सजाय दिने चेतावनी दिए ।

सभापति लामिछानेको सो अभिव्यक्तिको पूर्व सभामुख घिमिरेले खण्डन गरेका छन् । उनले लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’भनेर आफूविरूद्ध घृणा फैलाउने काम गरेको आरोप लगाए । लोकतान्त्रिक अभ्यासमा उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्नुपर्नेमा घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

‘जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ ।माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ’ उनले भनेका छन्,‘ संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँले संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो ।संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ मैले मात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।’

घिमिरेले जवाफ दिँदै प्रतिप्रश्न गरेका छन् ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन मुखले मत मागिरहनु भएको छ ?’ आफू आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा नरहेको बताउँदै घिमिरेले आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलगाउन अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्