झापा,फागुन १३ । नेपाल–भारत सीमा क्षेत्रमा स्क्याम गरी दुवै देशका मानिसहरुलाई ठगी गर्दै आएको एक गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

१२ करोड नक्कली नोट छापेर ठगी धन्दा गर्ने योजना बनाउँदै गर्दा ६ भारतीय र एक नेपालीसहित ७ जनालाई विभिन्न किर्ते कागजात र सामानसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल राज्यआदर्श पल्ली बस्ने वर्ष ४५ का अरिन्दम धर , उनकी श्रीमती भारत पश्चिम बंगाल राज्य सारत पल्ली बस्ने वर्ष ३६ की दिपा भौमिक , भारत पश्चिम बंगाल राज्य चन्द्र मोहन गुहा रोड, हरिनभी, साउथ २४ पार्गानास बस्ने वर्ष ३५ का सुमन सरकार ,भारत पश्चिम बंगाल राज्य पार्गानास मुसलमान पारा बस्ने वर्ष ३७ का नुर कलाम शेख, झापा कमल गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ४३ का देवेन्द्र सापकोटा ,भारत पश्चिम बंगाल राज्य जलपाईगुरी बने वर्ष ५२ का अवेद अली हुसैन र भारत पश्चिम बंगाल राज्य उमाचरनपुर फालाकाता बने वर्ष २० का फारुक अज्मी रहेका छन् ।

मंगलवार साँझ ६ बजे २ वटा भारतीय नम्बर प्लेटको सवारी साधनमा शंकास्पद रुपमा चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको अवस्थामा भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपालको २ नं. हेडक्वार्टर गणले चेकजाँच क्रममा गाडीमा सवार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी घटना र बरामद सामानबारे जानकारी दिएको छ । थप अनुसन्धान क्रममा उनीहरुले संगठित रुपमा ठगी र आपराधिक लाभ लगायतको उद्देश्य राखेको पुष्टि भएको छ । नोट (कागजी मुद्रा) आकारको सादा कागजको प्रत्येक बन्डलमा तल माथि सक्कली कागजी मुद्रा राखी र साथमा सरकारी कार्यालयको पत्र समेत राखी आफूले व्यापारमा लगानी गरी नाफा कमाएको रकम कानुनी अड्चनको कारण नेपालको कानुन कार्यान्वयन गर्ने निकायले जफत गरेको र सो रकम भारततर्फ लैजान पेनाल्टीस्वरुप जरिवाना वापतको रकम बुझाउनुपर्ने भएकाले केही रकम आवश्यक परेको भनी चिनजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरुलाई उक्त भिडियो सन्देश पठाई ठगी गर्ने योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनीहरुले मेचीनगर नगरपालिका वडा न ४आमडाँगीमा लुकाई राखेको २१ वटा टिनको बक्सा र २३७ बन्डल नोट आकारको सादा कागज बरामद गरिएको छ । उनीहरुले सो कागजबाट १२ करोड नक्कली नोट छाप्ने योजना बनाएको कुरा अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट सरकारी छाप तथा दस्तखत किर्ते गरिएको किर्ता कागजातहरु, नेपाल सरकारको निशान छाप , नेपाल प्रहरीको किर्ते गरी बनाइएको परिचयपत्र र नक्कली सरकारी डकुमेन्टहरु समेत बरामद भएको छ।
किर्ते गरि बनाइएका कागजातहरु सत्य हुन भनी विश्वास दिलाउन नोटरी पब्लिकबाट प्रमाणित गराउनु पर्ने भएकाले उनीहरु भारतबाट काँकडभिट्टा नाका हुँदै चन्द्रगढी आएको डीएसपी खड्काले बताए । डेढ महिना अगाडि उनीहरुले ठगी गर्ने उद्देश्य राखी पैसाको फोटो र भिडियो बनाउन मेचीनगर नगरपालिका वडा नं ४ स्थित एक होटलमा कोठा लिई उक्त टिनको बक्सा र नोट आकारको सादा कागजको बन्डलको फोटो तथा भिडियो बनाएको भनी बुझिएको खड्काले बताए ।
उनीहरुले नेपाल भारत सीमा क्षेत्रमा विगतका दिनहरुमा ठगी धन्दा लगायत अन्य किसिमका स्क्याम गरि दुबै देशका मानिसहरुलाई विश्वासमा पारी ठगी गरी पीडित बनाएको हुनसक्ने भएकाले ठगीमा परेका पीडितलाई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न डीएसपी खड्काले अनुरोध गरेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसुर अन्तरगत अनुसन्धान तथा कारवाही हुने जनाइएको छ ।



