झापा, फागुन १४ । झापामा चुनावी उच्छृंखलता बढेको छ । झापा गाउँपालिकाका ६ शरणामतीमा लगातार एमालेको झण्डा जलाएको घटना सेलाउन नपाउँदै कमलमा राष्ट्रिय झण्डामा आगो लगाइएको छ ।

हिजो कमल गाउँपालिका ६ खयरबारीमा खयरबारी युवा क्लवद्वारा निर्माणाधीन मुक्तिघाट निर्माणस्थलमा रहेको शिलान्यास ब्यानरमा अपरिचित व्यक्तिले आगो लगाइदिएका छन् । सोही ब्यानरको माथि बाँसमा गाडिएको नेपालको झण्डामा समेत आगोको झिल्कोले भेटेको छ । आगोको झिल्कोले झण्डाको तत्लोपट्टिको केही भाग जलेको छ ।

स्थानीयले हिजो दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी टोली खटिएर थप अनुसन्धान तथा घटनामा संग्लन आशंकित व्यक्तिहरुको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै दमकमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । दमक ५ स्थित दुई तले पक्की घरमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय जेनजी आन्दोलनमा तोडफोड गरी सम्पूर्ण सीसाहरु फुटाइएको थियो ।

पार्टी कार्यालय तोडफोडपछि तल्लो तलाको उतरपट्टिको एउटा कोठाको झ्यालको सीसा मर्मत गरी सर–सामान राख्ने गरिएकोमा सो कोठाको झ्यालको सीसा अपरिचित व्यक्तिले ढुंगाले हानेर पुनः फुटाइदिएका हुन् । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक नरेशराज मल्लको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्