एजेन्सी । इजरायलले इरानको राजधानी तेहरानसहित कैयौं सहरमा आक्रमण गरेको छ।

एक अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था अल जजीरालाई दिएको जानकारी अनुसार आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको हिस्सा हो ।
यस अन्तर्गत इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको कार्यालय नजिक आक्रमण भएको छ । आक्रमणपछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार बिहान गरिएको आक्रमणपछि तेहरानका कैयौं क्षेत्रमा धुँवा देखिएको थियो ।

आक्रमणपछि इरानले सबै उडानहरु रोकेको छ । यता इजरायलमा पनि एयर स्ट्राइक साइरन बजिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलको डिफेन्स फोर्सले इरानमा गरिएको आक्रमणको जानकारी दिँदै ‘प्रिभेन्टिभ अट्याक’ बताएको छ ।

संवेदनशील क्षेत्रहरु खाली गर्दै मानिसहरुलाई घरबाट बाहिर ननिस्कन इजरायलले अपिल गरेको छ ।
यता पाकिस्तानले आफ्ना नागरिकलाई इरान नजान अनुरोध गरेको छ । साथै इरानमा रहेका आफ्ना नागरिकहरुलाई सुरक्षित रहन पनि अनुरोध गरेको छ ।

बीबीसी फारसीका अनुसार यसअघि क्यानडाले आफ्ना नागरिकलाई तत्काल इरान छाड्न निर्देशन दिएको थियो । बेल्जियमले पनि आफ्ना नागरिकलाई लेबनान र इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ ।
त्यस्तै इरानमा इजरायलको आक्रमणपछि भारतले इजरायलमा रहेका आफ्ना नागरिकहरुलाई सधैं सतर्क रहन, सावधानी अपनाउन र दूतावाससँग सम्पर्कमा रहन सल्लाह दिएको छ।



