दमक, फागुन १६ । लगातार निर्वाचन जितेर यस पटक संकटमा परेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उल्याउँदै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन् ।

झापा–५ का लागि नेकपाका उम्मेदवार तामाङले आज निर्वाचन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरी ओलीलाई सहयोग गर्न आग्रह गरेका हुन् । ‘जोसुकैले सहयोग गरेपनि तपाईं (ओली) ले चुनाव जित्नुहुन्न । त्यसैले वाम आन्दोलनको रक्षाका लागि तपाईंले हामीलाई सहयोग गर्नुपर्छ,’ तामाङको आग्रह थियो ।

‘हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह, ऊर्जा र विजयको माहौल बढिरहँदा पराजित मानसिकता बोकेका विभिन्न शक्तिहरूले गठबन्धनको नाममा फैलाएका तथ्यहीन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं,’ उनले भनेका छन् ।
नेकपालाई सहयोग गरेर वाम आन्दोलनको पक्षमा उभ्याउन ओलीलाई सुझाव पनि उनले दिए । नेकपाले देशका ६८ स्थानमा निर्वाचन जित्ने संभावना रहेको जनाएको छ । त्यसमा झापाको कुनै पनि क्षेत्र राखिएको छैन ।

यसैगरी तामाङले ओली र बालेन समूहले आचारसंहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाए । ‘निर्वाचन परिणामलाई प्रभावित गर्ने मनसायले सत्ता र शक्तिको आडमा बजेट, योजना र अनेक प्रलोभनका पोका छरेर गरिएका सबै खाले आचारसंहिता विरोधी हर्कतको घोर निन्दा र भत्र्सना गर्दै त्यसखालका क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दछौं,’ उनले भने ।पत्रकार सम्मेलनमा तामाङले चुनाव बिथोल्न कसैले लाग्न नहुने बताए

‘रिपोर्टिङको सिलसिलामा झापा –५ अन्तर्गत कमल गाउँपालिकामा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमाले निकट नेशनल भोलेन्टियर्स फोर्सका कार्यकर्ताबाट गरिएको सांघातिक हमलाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कार्वाहीको माग गर्दछौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्