झापा, फागुन १६ । नेकपा एमालेको सहयोगमा लगातार दुईपटक निर्वाचन जितेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यस पटक पनि आफूलाई मत दिएर सहयोग गर्न एमाले –कांग्रेसलगायतका दलहरुलाई आग्रह गरेका छन् ।

१२ वर्षपछि यस पटकको निर्वाचनमा एमाले र राप्रपाले चुनावी गठबन्धन नगरी एक्लाएक्लै चुनाव लडेपनि लिङ्देनले एमालेको सहयोगको आशा छोडेका छैनन् । एमालेका तर्फबाट हरि राजवंशी चुनावी मैदानमा छन् ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार बनेका लिङ्देनले राजगढमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा अघिल्ला निर्वाचनहरुमा एमाले , कांग्रेस , माओवादीलगायतका दलको सहयोगमा निर्वाचन जितेको स्मरण गर्दै उनले पाँच वर्षको लागि मत दिएपनि दुई वर्षमै अद्यावधिक निर्वाचन भएकाले फेरि पनि मत दिएर सहयोग गर्न अपिल गरे । ‘ हलोमा भोट हाल्नुहोस् ,तपाईहरुको मत दुरुपयोग गर्दिनँ , धोका दिन्नँ’ उनले भने । लिङ्देनले आफू सबैको साझा उम्मेदवार भएको दाबी गरेका छन्। आफूलाई मत दिने मतदाताले कहिल्यै पछुतो गर्न नपर्ने उनको भनाई थियो ।

लिङ्देनले धर्मको रक्षा, सुशासन र भ्रष्टाचारमुक्त राज्य संरचना निर्माणका लागि आफ्नो उपस्थिति संघीय संसदमा आवश्यक रहेको जिकिर गरे। प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ राप्रपालाई मतदान गरी विजयी गराउन उनले मतदातासँग आग्रह गरे। राप्रपाको पक्षमा अप्रत्यासित मत आउने दावी गरेका लिङ्देनले आफू प्रधानमन्त्री बन्ने संभावना पनि रहेको दावीसमेत गरे ।

पछिल्लो समय भ्रष्टाचारले सीमा नाघेको टिप्पणी गर्दै उनले विभिन्न आन्दोलनमा ‘घुसपैठ’ भएको आरोपसमेत लगाए। कांग्रेस, कम्युनिस्ट तथा नयाँ शक्ति भनिएकाहरू जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै उनले वर्तमान परिस्थितिमा राप्रपा वैकल्पिक शक्तिका रूपमा अघि बढिरहेको बताए।

सभामा राप्रपाका नेता पुष्पराज पुरुषले हिन्दु राष्ट्रको मुद्दा उठाउँदै लिङ्देनको विजयका लागि आह्वान गरे। हिन्दु धर्म र पहिचानको संरक्षणका लागि उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्