काठमाडौँ । इरानी ड्रोन आक्रमणमा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो ।
दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । उनको मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । ‘निज श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,’ दूतावासले भनेको छ ।
परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजानेलगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न तत्पर रहेको पनि दूतावासले जनाएको छ । दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डहरु पूर्णरूपमा पालना गर्न समेत अनुरोध गरेको छ ।
इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १–१ जना नागरिकको मृत्यु भएको जनाएको छ ।
त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।



