झापा, फागुन २० । भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदान केन्द्रसंगै मतगणना स्थलको पनि तयारी भएको छ ।

देशकै चुनावी इपिसेन्टर मानिएको झापा ५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको दमकको अर्ग्यानिक कृषि भवनमा हुने भएको छ । भोलि मतदान सम्पन्न भइसकेपछि झापा ५ को ६१ वटा मतदानस्थलको मतपेटिका गणनाका लागि त्यस भवनमा लगिने भएको छ । मतगणनाका लागि मतगणनास्थलको तयारी भइसकेको नेपाली सेनाका एक अधिकारीले बताए ।

सेनाको प्रत्यक्ष संलग्नतामा मतगणना स्थलको व्यवस्थापन गरिएको हो । मतगणना विथोल्न नसक्ने गरी मतगणना स्थलको व्यवस्थापन गरिएको ती अधिकारीले बताए । सेनाले अन्तिम मत परिणाम नआइन्जेलसम्म मतगणना स्थलको पहरा दिने योजना बनाएको ती अधिकारीले बताए ।



