वीरु दर्नाल,
मोरङ , फागुन २० । पत्रकार तथा खोजकर्ता दिपेन्द्रराज तिम्सिनाको हिजो मंगलवार ४५ वर्षको उमेरमा निधन भएको छ ।

एक साताअघि उच्च रक्तचापले थलिएपछि उपचारको लागि मेडिसिटी अस्पताल काठमाडौं लगिएको थियो । त्यहाँबाट काठमाडौ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा त्यही निधन भएको पारिवारिक स्रोतले बताएको छ । मोरङ पथरीशनिश्चरे १० , जिरिखिम्ति निवासी तिम्सिना पत्रकारितासंगै पछिल्लो समय बिभिन्न बिषयका खोजमुलक पुस्तक लेखन तथा प्रकाशनमा ब्यस्त रहेका थिए । उनले टेलिफोन डायरी, नेपाल जेसीज , भुटानी शरणार्थी , तिम्सिना बन्धु , पथरीशनिश्चरे नगरपालिका ,इतिहासमा गुमनाम विसे नगर्चीलगायत दर्जनौ खोजमुलक पुस्तक लेखेका छन् । पछिल्लो समय नेपाल बैंक र बैंकिङ इतिहासबारे खोज गरिरहेका थिए ।
सरल स्वभावका पत्रकार तिम्सिनाका आमा बुबा , श्रीमती , एक छोरा र छोरी रहेको बताइएको छ । पथरी जेसीजका पूर्वसदस्य उनी बिभिन्न संघ संस्थामा आवद्ध रहेका थिए ।



