झापा, फागुन २१ । सुरक्षा चुनौती हुने भएपछि झापा ५ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफू चढेको हेलिकप्टर बीच आकाशबाटै फर्काएका छन् ।

काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेपछि बालेन झापा क्षेत्र नम्बर ५ मा आउन लागेका थिए । बालेनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए ।
बालेनले हेली एभरेस्टको हेलिकोप्टर भाडामा लिएर झापा ५ का लागि काठमाडौबाट उडेका थिए । यता झापा ५ का २९ वटै वडाका मतदान स्थल घुम्नका लागि दमकमा गाडी तयारी अबस्थामा राखिएको थियो । बालेन आएर मतदान स्थल घुम्ने कुरालाई लिएर नेकपा एमालेले विवाद गर्न खोजेको थियो ।
उनको उक्त योजनालाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आपत्ति प्रकट गरेका थिए ।
मुख्यमन्त्री कार्कीले बालेनको यो कदमलाई मतदातालाई प्रभावित बनाउने प्रयास भन्दै आपत्ति जनाएका थिए । विरोधपछि बालेन सवार हेलिकप्टर झापामा अतवरण नगरी काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार उनी सवार हेलिकप्टर ओखलढुंगाको आकाशबाटै फिर्ता भएको हो ।
हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका बालेनलाई काठमाडौं नै फिर्ता पठाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ। यसअघि पनि झापाको प्रहरी प्रशासनले मतदानका दिन बालेनले मतदान केन्द्र घुम्दा सुरक्षा दिन नसकिने भन्दै नघुम्न आग्रह गरेको थियो । आज मतदान केन्द्रमा बालेन गएको खण्डमा एमालेले निर्वाचन भाँड्ने योजना बनाएको बुझिएको छ ।
बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका रञ्जित तामाङ र कांग्रेसकी मन्धरा चिमरिया चुनावी प्रतिस्पर्धामा छन् ।



