झापा, फागुन २१ । मतदाताको संख्या बढेपनि झापामा अघिल्लो निर्वाचनको तुलनामा यस पटक कम मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको भन्दा कम मत खसेको हो । खसेको मतको यकिन तथ्यांक आइनसकेपनि आजको मतदानमा झापामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
नयाँ मतदाता थपिएको झापामा यस वर्षको निर्वाचनमा मतदानको दर बढ्ने अपेक्षा गरिएको थियो ।यसपटक ५० हजार नयाँ मतदातासहित झापामा सात लाख १३ हजार ५३७ मतदाता पुगेका छन् ।
झापामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ७०.४७ प्रतिशत मतदान भएको थियो । त्यसबेला जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेका थिए ।
२०७४ सालको अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो। २०७९ मा मतदाताको संख्या बढेपनि अघिल्लो निर्वाचनभन्दा २ प्रतिशत कम मत खसेको थियो । निर्वाचनमा मतदानको दर घट्दै गएको देखिएको छ ।


