झापा । यसअघिका चुनावमा पटकपटक आसपी तालमेल र गठबन्धन गरेर चुनावी परिणामलाई इधरउधर पार्दै आएका दलहरुले यस पटक पनि म्याच फिक्सिंग गरेको आशंका गरिएको छ । गत निर्वाचनहरुमा खासगरी झापा ३ र ५ मा त्यस्तो देखिएकोमा यस पटक यो बढेर ५ वटै क्षेत्रमा पुगेको छ ।

बढ्दो रास्वपाको प्रभाव रोक्न कांग्रेस र एमाले बिचमा यो तहमा म्याच फिक्सिंग भएको तथ्य बाहिरिएको छ । चुनावको एक दिनअघि नै एमाले क्षेत्र नं. १ का तर्फबाट यसबारेमा बिज्ञप्ति नै आएको थियो । जसमा यो कुरालाई अस्वीकार गर्दै यस्तो भएमा मान्य नहुने उल्लेख थियो । यद्यपि यो चुनावको मुखसम्म आइपुग्दा साबित नै भयो । एक जना कांग्रेसका जिल्लास्तरका नेताले यस कुरालाई अस्वीकार गरेनन् । उनका अनुसार क्षेत्र नं. १ मा कांग्रेसका केशव पाण्डेलाई एमालेले सघाउने गरी अन्य सबै क्षेत्रमा कांग्रेसले मत दिने सहमति भएको थियो ।
यो सहमति भएपनि के कति कार्यान्वयन भयो ? यसै भन्न सकिने अवस्था भने छैन । तर केपी ओलीलाई जिताएर बालेन शाहलाई हराउन यो रणनीतिमा कांगेस–एमाले पुगेको तथ्यलाई भने स्वीकार गर्नै पर्ने हुन्छ । साथै क्षेत्र नंं. ३ मा राजेन्द्र लिङदेनलाई हराउन पनि यो रणनीति अवलम्बन गरिएको हुनसक्ने आँकलन गरिएको छ । यद्यपि यसमा उनीहरु असफल भएको पाइएको छ ।
उता राप्रपाका प्रदेश अध्यक्ष दमक नगरपालिकाका प्रमुखले पनि बालेनलाई हराउन केही मतभार बेहोरेको तथ्यलाई गलत मान्न सकिन्न । किनभने केही दिनअघि मात्र अल्पमतमा रहेको बोर्डबाट एमालेकै समर्थनमा उनको घरभाडा तिरिदिने नगरको निर्णय भएको थियो । उनको घर जेनजी आन्दोलनमा आगजनीमा परी ध्वस्त भएको थियो ।
यसअघि कृष्णप्रसाद सिटौला हराउन यस्तो म्याच फिक्सिंग हुने गरेकोमा यसपटक विश्वप्रकाश शर्माकै क्षेत्रका उम्मेद्वारलाई जिताउन यस्तो खेल भएको तथ्यलाई एमालेकै बिज्ञप्तिले प्रमाणित गर्दछ ।



