झापा, फागुन २२ । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल विजयी भएका छन् ।

रुकुम पूर्वमा १० हजार २ सय ४० मत ल्याएका दाहाल विभिन्न जिल्लाबाट लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
दाहालका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार ८१ मत पाउँदा रास्वपाका लखनकुमार थापाले ८१९ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याए ।
पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका दाहाल काठमाडौं १० बाट भने पराजित भएका थिए । त्यस्तै २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भए । पूर्वमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको आग्रहमा गोरखा २ मा गएर विजयी भएका थिए । तर विजयी भएपछि दुई नेताबीच तिक्तता बढेको थियो ।
जेन–जी आन्दोलनका कारण संसद् विघटन भएपछि फागुन २१ को निर्वाचनका लागि उनी पूर्वी रुकुम पुगेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्