झापा, फागुन २२ । दुई तिहाई बहुमत ल्याउने संभावना देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जितसहित ११० स्थानमा अग्रता कायम गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

२०७९ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ ‘सबुज’ ले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो भएका छन् । केही समय उनी शिक्षामन्त्रीसमेत बनेका थिए । काठमाडौं–६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भएका छन् ।

२०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी केही समय युवा तथा खेलकुदमन्त्रीसमेत बनेका थिए ।

त्यस्तै काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्