विराटनगरः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा पूँजीगत खर्च २८ प्रतिशत भएको बताएका छन् । प्रदेशसभाको बैठकमा चालु अधिवेशनको प्रथम बैठकदेखि १८औँ बैठकसम्म शून्य समयमा उठेका प्रश्नको जवाफमा उनले प्रदेश सरकारले मध्यमस्तरको योजनालाई बढी प्राथमिकता दिएको उललेख गरे ।

उनले यस प्रदेशमा १३५ स्थानीय तहमा समपूरक अनुदान र ११३ स्थानीय तहलाई ससर्त अनुदान हस्तान्तरण भइसकेको जानकारी दिँदै पूर्वाधार विकासका निम्ति विनियोजित ४७ प्रतिशत र बजेटमा ५० प्रतिशत प्रगति भएको बताए । उनले ६४ बहुवर्षीय सडक स्वीकृत भई निर्माण प्रक्रियामा रहेका, ८७ मुख्यमन्त्री ग्रामीण सडक निर्माण प्रक्रियामा रहेका बताउँदै थप १८२ सडक निर्माण गर्न प्रक्रियामा रहेको जानकारी दिए।

मन्त्री आङ्बोले जनता आवास कार्यक्रम अपेक्षितरुपमा काम भइरहेको भन्दै कृषि र पर्यटन क्षेत्रमा सोचेअनुसारको काम नभइरहेको धारणा राखे । उनले प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट हुने प्रहरी चौकी भवनको काम सन्तोषजनक भइरहेको चर्चा गर्दै चैत महिनासम्ममा सम्झौता वा ठेक्का लागिसकेका योजनामात्र अगाडि बढाउने विश्वास दिलाए। उनले सर्वत्र असारे विकासको विरोध एवं आलोचना भइरहेकाप्रति प्रदेश सरकार सजग एवं सचेत रहेको उल्लेख गर्दै प्रदेश सरकारको संयन्त्र प्रभावकारी नभएकाले अपेक्षित लाभ लिन कठिनाइ भएको जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्