बिर्तामोड । बिर्तामोड नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।
आइतवार विहान बसेको बैठकले मेची आँखा अस्पतालमा ५० र कंचनजंघा हेल्थ साइन्समा ४० गरी कुल ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो ।नगरका प्रवक्ता अग्नि पाण्डेका अनुसार दैनिक खाद्य वस्तु अर अत्यावश्यक सामग्री उपलव्ध गराउन अनुगमन कार्यलाई सक्रिय बनाइने पनि भएको छ ।
नगरस्तरीय अनुगमनका लागि नगर प्रमुख ध्रुवकुमार शिवाकोटी संयोजक र उप प्रमुख पवित्रा महतारा सह संयोजक तोकिएका छन् ।
वडास्तरमा पनि अनुगमन समिती गठन गरि कालोबजारी नियन्त्रणका लागि सक्रिय रहने नगरपालिकाले जनाएको छ ।
यसैगरी विदेशबाट आउने व्यक्तिको रेकर्ड राख्न वडाका जनप्रतिनिधिलाई सक्रिय बनाउने पनि निर्णय भएको बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखालाई क्रियाशील राख्दै सूचना र जानकारी नियमित प्रवाह गरिने भएको छ ।
यसअघि कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि बिर्तामोड नगरपालिकाले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीच २ पटक अन्तरक्रिया गरिसकेको जनाएको छ भने सबै अस्पतालमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकिएको छ । यसैगरी स्वास्थ्य संस्था र अस्पतालहरुमा ज्वरोको अनिवार्य परीक्षण पनि शुरु गरिएको छ । सार्वजनिक र आम संचारमाध्यममार्फत सचेतनामुलक सामग्री प्रकाशन प्रशारण पनि भैरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।