२१ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीलाई निर्देशन दिनु भएको छ । शुक्रबार न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमीहुन नदिन निर्देशन दिनु भएको हो ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भैसकेको बताउनु भयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । मन्त्री ढकाले अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताउनु भयो । उहाँले बिरामीको उपचार पनि बढाउन र अन्य अस्पताल सँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन निर्देशन दिनु भयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाइ कुनै पनि किसिमको असुबिधा हुन नदिने बताए । न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोना सहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताउनु भयो । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि घाउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराउनु भयो । उहाँले कोरोनाका बिरामीको उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै कोरोनाको नाममा अन्य बिरामीको उपचार नपाइ ज्यान जाने अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।