बिर्तामोड (प्रस) यसै वर्ष भारतमा आयोजना हुने भनिएको फिफा यू—१७ महिला विश्वकप फुटबल प्रतियोगिता स्थगित भएको छ । प्रतियोगिता आगामी नोभेम्बरमा आयोजना हुने कार्यक्रम थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण फिफाले प्रतियोगिता स्थगित गर्ने निर्णय लिएको हो ।
प्रतियोगिताको नयाँ मिति भने सार्वजनिक गरिएको छैन । कोरोना भाइरसले विश्व फुटबलमा पारेको प्रभावको विषयमा अनुगमन गर्न फिफाले हालै एउटा निर्देशन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा यू—१७ महिला विश्वकप स्थगित गर्ने निर्णय लिइएको हो ।
उक्त समितिको शुक्रबार अबेर बसेको पहिलो बैठकले नै यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । उक्त बैठकले फिफा यू—२० महिला विश्वकप पनि स्थगित गर्ने निर्णय लिएको छ । यसका साथै आगामी जुनसम्म आयोजना हुने तय भएका अन्य केही प्रतियोगितासमेत स्थगित गर्ने निर्णय पनि उक्त बैठकले लिएको छ । बैठकमा फिफाअन्तर्गतका विभिन्न महासंघले आयोजना गर्ने प्रतियोगिता र सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको छनोट प्रतियोगिताको विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ । विश्वकप छनोटका स्थगित खेलहरू कसरी र कहिले सुरु गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।
‘यस्तो विपत्तिको बेलामा हाम्रो अभियानमा साथ र सहयोग पु¥याउने सबै क्षेत्रीय महासंघ, राष्ट्रिय फुटबल संघ र अन्य संघसंस्थाप्रति फिफा आभार व्यक्त गर्न चाहन्छ’, फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको स्थितिमा यू—१७ महिला विश्वकप स्थगित गर्नुको हामीसँग अरू कुनै विकल्प थिएन ।’ प्रतियोगिताको नयाँ मिति छिट्टै सार्वजनिक गरिने पनि फिफाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्