मनिषा चम्लागाईँ
झापा,२२ चैत

प्रदेश –१को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विज्ञप्ती जारी गर्दै लकडाउनकै समयमा चिया टिप्न सुरु गरेर प्रशोधन थाल्न आवह्न गरे पनि झापाका उद्योगीले तत्कालै पूर्ण रुपमा चिया उद्योग सञ्चालन गर्न नसक्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा उद्योगीले लकडाउनको बेला चिया टिप्ने र प्रशोधनका लागि गरिएको आवह्न तत्कालै लागू गर्न नसक्ने बताएका हुन् ।
मन्त्रालयले बुधबार विज्ञप्ती जारी गरी चिया टिप्न, ढुवानी गर्न, कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको थियो । “अहिले तत्काल थोरै कामदार लगाई चियामा पानी हाल्ने, दबै लगाउने र गोडमेल गर्ने निर्णय भएको छ” झापाका प्रमुख जिल्ला अधिकारी उदयराना मगरले भने, “चार दिनसम्मको अवस्थालाई हेरेर बगान पूर्ण रुपमा सञ्चालन गर्न सक्ने वा नसक्ने भन्ने विषयमा छलफल हुने छ ।” छलफलमा झापाका चिया उद्योगी, प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो । थोरै कामदारले उद्योग सञ्चालन गर्न नसकिने हुदाँ केही दिन पनि पुनः छलफल गरेर उद्योग सञ्चालनमा ल्याउने उद्योग संघ झापाका प्रमुख टिकाराज ढकालले बताए ।
एघार देखि जारी लकडाउनका कारण बगानममै हुर्कन थालेको ‘फस्ट फ्लस’ (चियाको पहिलो टिपाई) चियाको टिपाई हुन सकेको छैन । पूर्वी जिल्ला झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा सञ्चालित चिया बगान र कारखाना यतिबेला बन्द छन् । जसले गर्दा चियाको पहिलो टिपाई बगानमा नै हुर्किएको छ । नेपालमा प्रत्येक वर्ष फस्ट फ्लस चिया २५देखि ३० लाख केजी उत्पादन हुन्छ । तराईका जिल्लामा मात्र २० लाख किलो फस्ट फ्लस चिया उत्पादन चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्